फ्रान्सका पूर्वराष्ट्रपति जिस्कार दिस्तँको निधन

   १८ मंसिर २०७७, बिहीबार १२:०४  

१८ मंसिर, रौतहट । फ्रान्सका पूर्वराष्ट्रपति भ्यालेरी जिस्कार दिस्तँको बुधबार निधन भएको छ । कोरोना संक्रमण पछि उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको र बुधबार लुवास्थित आफ्नै घरमा उनको निधन भएको भ्यालेरी जिस्कार दिस्तँ फाउन्डेसनले जनाएको छ ।

समाचार संस्था एएफपीले दिए जानकारी अनुुसार कोरोना संक्रमणपछि उनको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको थियो । उनी ९४ वर्षका थिए । परिवारका सदस्यहरुका अनुसार भ्यालेरीको इच्छाअनुसार नै परिवारका केही सदस्यहरुको उपस्थितिमा उनको अन्तिम संस्कार गरिने भएको छ ।

फ्रान्सलाई अगाडि बढाउन प्रमुख भूमिका खेलेका दिस्तँ सन् १९७४ देखि १९८१ सम्म राष्ट्रपति बनेका थिए । फ्रान्सली समाजको आधुनिकीकरण, गर्भपतनलाई वैधता, आपसी समझदारीमा सम्बन्ध विच्छेद गर्न पाउने तथा मताधिकार २१ वर्षबाट १८ वर्षमा झार्ने काम दिस्तँले गरेका थिए ।

साथै उनले जीवनभर युरोपेली मुलुकबीचको सहकार्यलाई जोड दिँदै आएका थिए । सन् २०१६ मा युरोपेली युनियनबाट बाहिरिने विषयमा जनमतस‌ंग्रह हुनुपूर्व उनले बेलायतलाई युनियनमै रहन पनि आग्रह गरेका थिए ।