काठमाडौंमा बाढी : एकजनाको मृत्यु, ३६ जनाको उद्धार

   १६ श्रावण २०८१, बुधबार ११:२०  

साउन १६, काठमाडौं । भारी वर्षासँगै काठमाडौँका नदी-खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ ।

बल्खु खोलाको बाढीमा परी एकजनाको मृत्यु भएको छ । प्रहरीले बल्खु पुलमुनि अड्किएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव भेटिएको जनाएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीका अनुसार काठमाडौँको सुकुम्बासी टोलमा बस्दै आएका निजको बाढीमा परी मृत्यु भएको हो । मृतकका परिवार प्रहरीको सम्पर्कमा आएकाले उनीहरूलाई शव बुझाउने तयारी भएको छ ।

काठमाडौँ उपत्यकामा गए राति मुसलधारे वर्षा भएपछि वाग्मती र यसका सहायक हनुमन्ते, मनोहरा, धोबिखोला, गोदावरी, विष्णुमती, नक्खु, बल्खुखोलालगायत सबैमा जलसतहले खतराको तह पार गरेको थियो । बाढी खोलाकिनारको सडकसम्म पसेको र कतिपय बस्ती डुबानमा परेका प्रवक्ता मैनालीले जानकारी दिए ।

काठमाडौंको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको हो । काठमाडौंको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो ।

काठमाडौंको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ । नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ ।

ललितपुरको युएन पार्क क्षेत्रबाट डुबान प्रभावित दुई, सुन्दरीघाटबाट आठ, बालकुमारी पुलमुनिबाट एक, महालक्ष्मी नगरपालिका–८ चागाथलीबाट ७ र महालक्ष्मी नगरपालिका राममन्दिरबाट ६ जनाको उद्धार गरिएको छ ।