१० वर्षअघि आजकै दिन विश्वकपमा डेब्यू गरेकाे थियाे नेपालले

   ३ चैत्र २०८०, शनिबार १८:२१  

३ चैत, काठमाडौं । १० वर्षअघि आजकै दिन मार्च १६, २०१४ । टी-२० विश्वकपमा नेपालले डेब्यू गर्दै थियो । नेपालले डेब्यू गर्नुअघि नै देश क्रिकेटमय भइसकेको थियो ।

बजारका चोक-चोकमा क्रिकेट हेर्न ठूलो पर्दा राखिएका थिए भने गाउँ गाउँमा टिभी भएका घरहरू भरिएका थिए । क्रिकेट हेर्न बजारका चोकमा दर्शकको ठूलो भिड बनिसकेको थियो ।

नेपालले डेब्यू खेल बङ्गलादेशको जहुर अहमद चौधरी स्टेडियममा हङकङसँग खेल्दै थियो । खेल साँझपख सुरु हुने समय तालिका थियो ।

तर, नेपालमा भने बिहानैदेखि क्रिकेटमय भइसकेको थियो । चिया पसलदेखि चोक चोकमा क्रिकेटमा गफ बाक्लिसकेको थियो । दर्शक भने साँझपख कति बेला हुन्छ भनेर पर्खाइमा थिए ।

क्रिकेट नबुझेकाहरू पनि नेपालको क्रिकेट हेर्नु आतुर देखिन्थे । त्यतिबेला देशकै ध्यान विश्वकप क्रिकेटमा थियो । जब टी–२० विश्वकपमा पहिलो पटक नेपालको राष्ट्रिय गान बज्यो ।

सबै नेपाली शिर ठाडो र छाती फुलाएर राष्ट्रिय गानमा सरिक भए । त्यति ठूलो मञ्चमा नेपाली खेलाडीलाई देख्न देशले नै गर्व महसुस गरेको थियो ।


उक्त विश्वकपमा बलियो राष्ट्र अफगानिस्तान र हङकङलाई पराजित गर्दै नेपालले क्रिकेटमा स्वर्णिम पाइला चालेको थियो । बङ्गलादेशसँग पराजित भएको नेपालले रन रेटका आधारमा पहिलो चरणबाट बाहिरिनु परेको थियो ।

तर, नेपालको विश्वकपसम्मको यात्राले नेपालीको ध्यान त तानेको नै थियो । नेपाली क्रिकेटमा बलियो जगसमेत बसालेको थियो । किनभने १९९६ मा पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेलेको नेपाललाई २०१४ को विश्वकप खेल्न सक्नु हालसम्मकै ठूलो उपलब्धि थियो ।

विश्वकपको डेब्यू खेलमा हङकङलाई पराजित गर्दै नेपालले विश्वको ध्यान तान्न सफल थियो । नेपालले पहिलो खेलमा हङकङलाई ८० रनले पराजित गरेको थियो । डेब्यू खेलमा हङकङले टस जित्दै नेपाललाई पहिला ब्याटिङ गर्न निम्तो दिएको थियो ।

नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन बनाएको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ४८ र कप्तान पारस खड्काले ४१ रनको योगदान दिएका थिए ।

अहिले पारस नेपाल क्रिकेट संघ क्यानको सचिव छन् भने ज्ञानेन्द्र नेपाल ए टीमको मुख्य प्रशिक्षक छन् । यसबाहेक सुभाष खकुरेलले २२, सागर पुनले १३, शरद भेषवाकरले १४ रन जोडेका थिए ।

१४९ रनको लक्ष्य पछ्याएको हङकङ १७ ओभरमा ६९ रनमा समेटियो । हङकङलाई सस्तोमा समेट्न नेपालका स्पिनर शक्ति गौचन र बसन्त रेग्मीले ३–३ विकेट लिएका थिए भने सोमपाल कामीले २, पारस खड्का र जितेन्द्र मुखियाले एक एक विकेट लिएका थिए ।

टी–२० विश्वकप खेलेको १० वर्षपछि पुनः नेपालले २०२४ मा विश्वकप खेल्दै छ । अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप २०२४ मा नेपाल समूह डीमा परेको छ ।

समूह डीमा नेपालसहित दक्षिण अफ्रिका, बङ्गलादेश, श्रीलङ्का र नेदरल्याण्ड्स छन् । नेपालले पहिलो खेल जुन ४ मा नेदरल्याण्ड्स, दोस्रो खेल जुन ११ मा श्रीलंका, तेस्रो खेल जुन १४ मा दक्षिण अफ्रिका र चौथो खेल जुन १६ मा बङ्गलादेशसँग खेल्नेछ ।

गत कात्तिकमा घरेलु मैदानमा भएको टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपालले १० वर्षपछि टी–२० विश्वकपमा स्थान पक्का गरेको हो ।