थाइराइडबारे ७ भ्रम

   १२ श्रावण २०८०, शुक्रबार १४:१२  

थाइराइडको समस्या बढ्नुको मुख्य कारण आयोडिनको कमी हो। पानी, सागसब्जी र फलफूलबाट आयोडिन पाउने हो। तर आयोडिन पाउने खानाहरू स्वस्थकर छैनन्। अर्को कुरा वातावरण पनि हो। यस्ता विभिन्न कारणले थाइराइडको समस्या बढेको छ। थाइराइडका बारेमा विभिन्न भ्रम छन्।

१. थाइराइड रोग हो भन्ने भ्रम

थाइराइड भनेको एउटा रोग नभई हाम्रो घाँटीमा हुने पुतली आकारको एउटा अंग हो। जसलाई नेपालीमा गलगाँड भनिन्छ।थाइराइड एउटा ग्रन्थी हो। जसले हाम्रो शरीरलाई चाहिने हर्मोनको उत्पादन गर्छ। जसले शरीरलाई सन्तुलन राख्न सहयोग गर्छ।जसरी आँखामा,नाकमा समस्या हुन्छ त्यस्तै थाइराइड ग्रन्थीमा समेत समस्या हुन्छ। थाइराइड दुई किसिमका हुन्छन्। हाइपो थाइरोडिजम र हाइपर थाइरोडिजम हो। थाइराइडको समस्या हुनेमध्ये झण्डै ९० प्रतिशतलाई हाइपो थाइरोडिजम हुन्छ। हाइपो थाइरोडिजम भनेको थाइराइड ग्रन्थीले उत्पादन गर्ने हर्मोनमा कमी हुनु हो। हाइपर थाइरोडिजम भनेको थाइराइड ग्रन्थीले उत्पादन गर्ने हर्मोनमा बढी हुनु हो।

२. थाइराइडको समस्या भएका महिलाले बच्चा जन्माउन सक्दैनन्

कोही महिला दिदीबहिनीलाई थाइराइडको समस्या छ भने बच्चा नबस्ने भन्ने हुँदैन। थाइराइडको समस्याले गर्दा महिनावारीमा गडबडी आउँछ। महिनावारीमा गडबडी हुँदाहुँदै पनि बच्चा बस्न सक्छ। त्यस्तो अवस्थामा बच्चा खेर जान सक्छ। तर थाइराइडको समस्या हुँदैमा बच्चा बस्दैन भन्ने होइन। सामान्य उपचार गर्‍यो भने बच्चा बस्छ। यसलाई ठूलो समस्याको रूपमा लिनु हुँदैन। समाज,घरपरिवारले दिने तनावले समेत थप समस्या पार्छ।

३. खानाबारेको भ्रम

बन्दा, ब्रोकाउली, काउली, सागसब्जी, भिडी, दूध, दही, मोही, स्याउ र च्याउ खान मिल्छ। थाइरइडको समस्या हुनेले बार्न पर्ने खाना केही छैन। चुरोट,रक्सी,धेरै चिल्लो पदार्थ कसैले पनि खान हुँदैन।

४. मोटो मान्छेलाई थाइराइडको समस्या हुन्छ

कतिपय मोटो शरीर भएकाहरूको थाइराइड सामान्य भने पनि उनीहरूले पत्याउँदैनन्। तर मोटाउने सबैलाई थाइराइड हुन्छ भन्ने होइन। हाइपो थाइराइड भयो भनेर ५० केजीको मान्छे एकैचोटी ८० केजी पुग्छ भन्ने होइन। महिनामा ५ केजीसम्म बढ्न सक्छ। तर थाइराइडको गडबडीको कारणले २०\३० केजी बढ्ने भन्ने हुँदैन। यो एउटा भ्रम मात्र हो। हाइपो थाइरोडिजमको कारणले तौल बढेको छ भने औषधी खाएपछि त्यो तौल ठीक हुन्छ। त्यसैले तपाईं धेरै मोटाउनु भएको छ भने थाइराइडको औषधी खाने होइन कि खानपिन र व्यायाममा ध्यान दिनुपर्छ।

५. एकपटक औषधी खाएपछि सधैं खानुपर्छ

थाइराइडको समस्या भएर एक पटक औषधी खाएपछि सधैं खानुपर्छ भन्ने ठान्नु गलत हो। यो अवस्था हेरेर हुन्छ। जस्तो: धारामा पानी नआएर ट्याङ्करबाट पानी ल्याएजस्तै हो। धारामा पानी आउन साथ ट्याङ्करको पानी मगाउन पर्दैन। त्यस्तै, थाइराइड ग्रन्थीले शरीरलाई चाहिने हर्मोन आफैं उत्पादन गर्दैन तबसम्म औषधी खाने हो। थाइराइड ग्रन्थीले शरीरलाई चाहिने हर्मोन उत्पादन गर्न सुरू गरेपछि औषधी छोड्न मिल्छ।

६.औषधी खाएको कति समयपछी खाना खाने?

थाइराइडको औषधी बिहान उठ्नसाथ खानुपर्छ। औषधी खाएर नित्यकर्म गरेपछि अन्य खाना खान मिल्छ। त्यसैले यति बेला खानुपर्छ भन्ने हुँदैन। औषधी खाएको १ घण्टा २ घण्टासम्म केही खान हुँदैन भन्ने छ त्यो गलत हो।

७.गर्भवतीले औषधी बन्द गर्ने भ्रम

थाइराइडको समस्याले गर्दा औषधी खाइरहेका कतिपय महिलाहरूले गर्भवती भएपछि थाइराइडको औषधी छोड्ने गर्छन्। यस्तो गर्नु गलत हो। औषधी खाइरहँदा पेटको बच्चालाई असर गर्छ, त्यसैले औषधी बन्द गर्नु पर्यो भनेर महिलाहरू आउँछन्। तर त्यस्तो गर्नु हुँदैन। यस्तो गरेमा बच्चालाई असर गर्न सक्छ। तर औषधीले बच्चालाई केही असर गर्दैन।

(थाइराइड, मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा.रूपक भारी आरूस लाइफस्टाइल अस्पतालमा कार्यरत छन्)