रौतहटको राजपुरमा हैजा फैलियो
द नेपाल मिडिया
७ आश्विन २०८१, सोमबार १२:२७
७ गते, रौतहट । रौतहटको राजपुर नगरपालिकाको दुई वटा वडामा हैजा रोग फैलिएको छ । पछिल्लो तिन दिनमा राजपुर नगरपालिकाको वडा नम्वर ३ र ४ मा हैजाको लक्षण सहितका विरामीको संख्या ६२ पुगेको छ ।
असोज ३ गते देखि देखापरेको झाडापाखाला हैजाको लक्षण देखिएका ६२ भन्दा बढी विरामीहरु प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा उपचार गराउन आएको राजपुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख खुर्शिद आलमले बताए ।
असोज ४ मा उपचार गराउन आएका १६ बिरामी मध्ये १२ जनामा हैजाको जीवाणु फेला परेको उनले बताए । “प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा परिक्षणका लागी पठाइएको नमुनामा हैजाको जीवाणु फेला परेको हो ।” स्वास्थ्य शाखाका प्रमुख आलमले भने “हैजा कुन माध्यमबाट फैलिएको हो भन्ने पुष्टी भएको छैन ।”
खानेपानीका माध्यमबाट हैजा फैलिएको आशंका भए पनि सो को पुष्टी हुन नसकेको र पानीमा हैजाको जीवाणु परिक्षणको लागी पठाए पनि अहिले सम्म सो को नतिजा प्राप्त नएको आलमले बताए ।
सो प्राथमिक स्वास्थ्य केन्द्रमा हाल सम्म आएका ६२ बिरामी मध्ये ४० जना उपचार पछि घर फर्किएका छन भने २२ जनाको उपचार जारी रहेको छ । समुदाय स्तरमा हैजा फैलिएपछि सो क्षेत्रमा धाराबाट खानेपानी वितरण बन्द गरीएको छ भने जिल्ला प्रशासन कार्यालय रौतहटले सो अत्यावश्यक सेवा बाहेकका सवारी आवतजावतमा बन्देज लगाएको छ । हैजा फैलिएको सो क्षेत्रमा माछामासु ओसार पसार तथा विक्रि समेत निषेध गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।
राजपुरमा हैजाको संक्रमण फैलिन थालेपछि नगरपालिकाले संघिय सरकार, मधेश प्रदेश सरकार तथा सरोकारवाला सबैलाई हैजा नियन्त्रण्मा सहयोगको अपील गरेको छ ।