दाइजोका लागी आमा र छोरीको हत्या
१६ अषाढ, रौतहट । दाइजोको निहुमा गएराति रौतहटमा आमा र छोरीको हत्या भएको छ । रौतहटको मौलापुर नगरपालिका ४ पतौरामा २४ वर्षिया महिला र उनकी २ वर्षिया छोरीको हत्या भएको हो ।
स्थानिय धिरेन्द्र साहको २४ वर्षिया श्रीमती कविता देवीको शव घर भित्र लडेको अवश्थामा र उनकी २ वर्षिया छोरी आरुही साहको शव कोठामा पंखामा झुण्डीएको अवश्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटना पश्चात मृतकका श्रीमान धिरेन्द्र साह उनका बुवा नागेन्द्र साह फरार भएका छन ।
“मृतकका जेठानी र सासुलाई सोधपुछका लागी ल्याएका छौं ।” जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक वीरबहादुर बुढामगरले भने “मृतकका श्रीमान अहिले सम्म फेला परेका छैनन, उनको खोजतलाश गर्दैछौं ।” घटनाका बारेमा तत्कालै केही भन्ने अवश्था नरहेको र अनुसन्धान पछि मात्रै विस्तृत कुराहरु खुल्ने उनले बताए ।
दाइजोका लागी हत्या भएको परिवारजनको आरोप
तिन वर्ष अघि वैवाहिक बन्धनमा बाधिएकी कवितालाई उनका श्रीमानले पटक पटक दाइजोका लागी यातना दिने गरेको कविताका बुवा विजय शंकर साहले बताए ।
माधव नारायण नगरपालिका वडा नम्बर ५ मिठुअवा घर भएका मृतक कविता साहका पिता विजय शंकर साहले दाइजोका विषयमा छोरी ज्वाई बिच पटक पटक विवाद हुने गरेको बताए । “बिहे पछि दाइजोमा सुनको औठी र सिक्री दिन सकिएको थिएन । ज्वाई धिरेन्द्रले धेरै पटक छोरीलाई यो विषयमा कुटपीट गरेको थियो ।” विजय शंकर साहले भने “आखिरमा दाइजोकै लागी छोरी र नातिनीको हत्या गरेर ज्वाई फरार भए ।”
घटनाको निष्पक्ष छानबिन गर्दै अपराधिहरुलाई कडा सजाय दिनु पर्ने उनको माग रहेको छ ।






