बचत फिर्ता गर्न नसकेका ११४ सहकारी कालोसूचीमा

   ३२ जेष्ठ २०८०, बिहीबार १५:१७  

जेठ ३२, काठमाडौ । सहकारीले सर्वसाधारणको बचत फिर्तामात्र नभई बैंक तथा वित्तीय संस्थाको कर्जासमेत नतिरेको पाइएको छ । यही कारण बैंक तथा वित्तीय संस्थाले सहकारीलाई धमाधम कालोसूचीमा राख्न थालेका छन् ।

कर्जा सूचना केन्द्रका अनुसार हालसम्म ११४ सहकारी कालोसूचीमा परेका छन् । केन्द्रका प्रवक्ता विजय कुँवरले बैंक तथा वित्तीय संस्थाले सिफारिस गरेका सहकारीमात्र कालोसूचीमा राखिने बताए ।

उनले भने, ‘धेरैजसो सहकारी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका पनि छन् । उनीहरूले समयमै ऋण तिर्न नसक्दा कालोसूचीमा राखिदिन बैंकहरूबाट आग्रह गरेपछि सूचना केन्द्रले कालोसूचीमा राख्छ ।’

पहिलोपटक २०६० पुस २८ मा शैक्षिक समाज सहकारी कालोसूचीमा परेको थियो । त्यसयता फाट्टफुट्ट सहकारी कालोसूचीमा परेपनि २०७९ मा भने ह्वात्तै बढेको देखिन्छ । २०७९/८० को (दुईमहिनामा) मात्रै ८६ सहकारी संस्था कालोसूचीमा परेका छन् ।

जीवन सुन्दर कृषि सहकारी लिमिटेड, तिरिमिरि बचत तथा ऋण सहकारी संस्था, स्मृति बचत तथा ऋण सहकारी संस्था, साथीभाइ बचत तथा ऋण सहकारी संस्था, अनुरोध बचत तथा ऋण सहकारी संस्था, इमानुअल बचत तथा ऋण सहकारी संस्था, हाम्रो कृषि तथा पशुपालन सहकारी, सन्ध्या बचत तथा ऋण सहकारी संस्था,नयाँ तारा बचत तथा ऋण सहकारी, सुमार्ग बचत तथा ऋण सहकारी, तुलसी बहुमुखी सहकारी संस्था, सनराइज बचत तथा ऋण सहकारी, पश्चिमोदय बचत तथा ऋण सहकारी लगायत कालोसूचीमा परेका छन् । त्यस्तै गेल्डेनरोज सेभिङ एण्ड क्रेडिट, हिउचुली सेभिङ एण्ड क्रेडिटलगायत सहकारी पनि सूचीमा छन् ।

कालोसूचीमा परेका सहकारीको बैंक खाता रोक्का गरिनुका साथै नयाँ खातासमेत खोल्न पाउने छैनन् ।

दुई सातादेखि बचतकर्ताको आन्दोलन

यता सर्वसाधारणको बचत फिर्ता गर्न नसकेका सहकारीविरुद्ध सडक आन्दोलनसमेत भइरहेको छ । संघर्ष समितिकी अध्यक्ष सुनिताराज भण्डारीले सरकारले आफ्ना मागहरु लिखित रुपमै सम्बोधन गर्ने आस्वासन नदिएसम्म आन्दोलन जारी रहने बताएकी छन् । सहकारी पीडितहरूले बचत फिर्ता गर्नुपर्ने, सहकारीलाई राष्ट्र बैंकमार्फत नियमन गर्नुपर्नेलगायत माग राखेका छन् ।

सहकारी पीडीत संघर्ष समिति नै बनाएर विभिन्न सहकारी संस्थाका बचतकर्ताले सडक आन्दोलन थालेको करिब दुइ साता भइसकेको छ । अहिले देशभर ३२ हजार प्लस सहकारी छन् । पछिल्लो समय नाम चलेकै सहकारीले पनि बचत फिर्ता गर्न सकेका छैनन् । सहकारीका अभियन्ताहरू भने राम्रा सहकारीमा पनि एकै पटक बचत फिर्ता माग्न जानेक्रम बढेपछि समस्या भएको बताउँदै आएका छन् ।