तातो हावा (लू) लाग्दा स्वास्थ्यमा कस्तो असर देखिन्छ ?

   २५ जेष्ठ २०८०, बिहीबार ११:१४  

जेठ २५, काठमाडौं । केही दिनयता काठमाडौंलगायत तराईका भू–भागमा तापक्रम उच्च रहेको छ । जसका कारण गर्मी बढेको छ । गर्मी बढ्दा त्यसको प्रत्यक्ष असर जनजीवनमा पर्न थालेको छ ।

सरोकारवाला निकायले गर्मीको असरबाट बच्न सावधानी अपनाउन आग्रह गर्दै आएका छन् । तराईका जिल्लामा तातो हावा (लू) चलिरहेको छ ।

तातो हावा (लू) लाग्दा कस्तो असर देखिन सक्छन् ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तातो हावा तथा लू लाग्दा हृदयको गति तीव्र हुने जनाएको छ । “श्वासप्रश्वास र रक्तचाप कम हुन्छ । शरीरबाट पसिना ननिस्किने, टाउको अत्यधिक दुख्ने समस्या देखिन सक्छ,” स्वास्थ्य मन्त्रालयले भनेको छ, “चक्कर लाग्ने, अचेत हुने, शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुन्छ ।”

छाला सुक्खा हुने, रातो र तातो हुने समस्या देखिने मन्त्रालयले जनाएको छ । यस्ता असर देखिए तत्काल बिरामीलाई नजिकैको अस्पताल लैजान पनि मन्त्रालयले आग्रह गरेको छ ।