मधेश प्रदेशमा कांग्रेस र एकीकृत समाजवादीका मन्त्रीहरुले लिए शपथ

   ९ जेष्ठ २०८०, मंगलवार १७:२६  

९ जेठ, जनकपुर :मधेश प्रदेश सरकारमा तीनजना मन्त्री थपिएका छन्। मुख्यमन्त्री सरोज यादवले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद विस्तार गरेका हुन्।

उनले कृष्ण प्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्री, गोविन्द बहादुर न्यौपानेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र विरेन्द्र प्रसाद सिंहलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिएका छन्। नवनियुक्त मन्त्रीहरुले आजै मधेश भवनमा शपथ ग्रहण पनि गरेका छन्।

यादव र सिंह नेपाली कांग्रेसबाट मन्त्री भएका हुन् भने न्यौपाने एकीकृत समाजवादीबाट मन्त्री भएका हुन्।

मुख्यमन्त्री यादवले जनमत पार्टीलाई दिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय खोसेर एकीकृत समाजवादीलाई दिएको हो। जनमत पार्टीबाट बसन्त कुशवाह मन्त्री थिए। मुख्यमन्त्रीले मन्त्रालयले खोसेपछि जनमत पार्टीले सरकारबाट बाहिरिने तयारी गरेको छ।

यस्तै, दुई राज्यमन्त्री सञ्जय यादव र शेख अबुल कलाम आजादलाई पनि मन्त्रालय विहिन बनाएको छ । जनमतका यादव भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र जसपाका आजाद सामाजिक विकास राज्यमन्त्री थिए ।

यता, सरकार विस्तार सत्तारुढ गठबन्धनमा भएको सहमती विपरीत मुख्यमन्त्री यादवले गरेको भन्दै आज मात्रै नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने निर्णय गरेको छ । गठबन्धनमा रहेको अर्का दल लोसपा सरकारमै सहभागी भएन ।

मुख्यमन्त्री यादवले मनपरी ढंगले सरकार विस्तार गरेको भन्दै असन्तुष्ट माओवादी, जनमत पार्टी र लोसपाको संयुक्त बैठक बसिरहेको छ ।