नेपाल विश्वकप ग्लोबल छनोटबाट एक कदम मात्रै टाढा

२९ फागुन,काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग २ को अन्तिम शृंखलाअन्तर्गत पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले कीर्तिमानी ९ विकेटको फराकिलो जित निकालेको छ। सन्दीप लामिछानेको पाँच विकेटप्रेरित नेपालले त्रिवि क्रिकेट मैदानमा पीएनजीलाई ९५ रनमा अलआउट गरेको थियो।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले ७.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो। नेपालका लागि ओपनर आसिफ शेखले २१ बलमा आठ चौका र तीन छक्कासहित आक्रमक अर्धशतक बनाए।
पहिलो विकेटका लागि कुशल भुर्तेल ५१ रनको साझेदारी गरेर आउट भए पनि आसिफ ५३ रन जोडेर अविजित रहे। यस्तै, वान् डाउनमा क्रिजमा उत्रिएका कुशल मल्ल १३ बलमा १२ रन जोडेर अविजित रहे।
पीएनजीका लागि चाड सोपरले एक विकेट लिनुबाहेक अन्य बलर निरीह रहे। पहिलो इनिङमा नेपालका लागि सशक्त बलिङ गरेका सन्दीपले १० ओभरमा २५ रन खर्चेर एक मेडनसहित सर्वाधिक पाँच विकेट लिएका थिए।
टस जितेर फिल्डिङ थालेको नेपालले ३२औं ओभरमा पीएनजीको पूरै टिमलाई पभिलियन फर्काएपछि ९६ रनको झिनो लक्ष्य पाएको थियो।
नेपालका लागि ललित राजवंशीले सात ओभरमा १३ रन खर्चेर एक मेडनसहित दुई विकेट लिए। यस्तै, कुशल मल्लले तीन ओभरमा ६ रन खर्चेर एक मेडनसहित दुई विकेट लिए। पाँच ओभरमा २२ रन खर्चिएका सोमपाल कामीले दुई मेडनसहित एक विकेट लिए।
पीएनजीका ओपनर किप्लिन डोरिगा दुई, हिरी हिरी १४ र सेसे बाउ १८ रन जोडेर पभिलियन फर्किए। यस्तै कप्तान आसाद भाला २०, चार्ल्स अमिनी १६ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
घरेलु मैदानमा लिग २ को अन्तिम शृंखला खेलिरहेको नेपाल आजको खेलमा जित निकालेसँगै शीर्ष तीनमा पुग्न एक कदम मात्रै बाँकी छ। नेपालले बिहीबार हुने यूएईविरुद्धको खेलमा जित निकाले शीर्ष तीनमा रहँदै अर्को वर्ष भारतमा हुने एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ।
आइतबार यूएईलाई एक सय ७७ रनले पराजित गर्दै नेपालले एकदिवसीयमा मान्यता आगामी चार वर्षका लागि जोगाइसकेको छ।
पीएनजीविरुद्ध नेपालले हासिल गरेको विकेटको आधारमा सर्वाधिक फराकिलो जित हो। यसअघि नेपालले २०२० को फेब्रुअरी १२ मा लिग २ त्रिदेशीय शृंखलामा अमेरिकालाई आठ विकेटले पराजित गरेको थियो।
त्यो खेलमा सन्दीपले ६ तथा सुशन भारीले चार विकेट लिएका थिए।