यूएईविरुद्ध नेपालको कीर्तिमानी जित

   २८ फाल्गुन २०७९, आईतवार १७:३९  

फागुन २८, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम त्रिदेशीय शृंखलाअन्तर्गत आइतबार युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध कीर्तिमानी जित निकाल्दै नेपालले आउँदो चार वर्षका लागि एकदिवसीय मान्यता कायम राखेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले यूएईलाई १७७ रनले हराएको हो । यूएईविरुद्धको जित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको अहिलेसम्मकै फराकिलो जित हो ।

नेपालले यसअघि सन् २०२१ मा पपुवा न्युगिनी (पीएनजी)लाई १५१ रनले हराएको थियो । त्यो नै अहिलेसम्मको फराकिलो जित थियो ।

आइतबार नेपालले प्रस्तुत गरेको २४९ रनको लक्ष्य पछ्याउने क्रममा यूएई २२.५ ओभरमा ७१ रनमै समेटियो ।

त्यसअघि, कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाएपछि टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २४८ रन बनाएको थियो ।

यूएईलाई सस्तैमा समेट्न नेपालबाट घातक बलिङ गरेका ललितनारायण राजवंशीले पाँच विकेट लिए । ललितले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक एकै खेलमा पाँच विकेट लिएका हुन् । ७.५ ओभर बलिङ गरेका ललितले दुई मेडन राख्दै २० रन मात्र खर्चिए ।

सन्दीप लामिछानेले दुई विकेट लिए । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान एक विकेट लिए ।

नेपालका रोहितले ११२ बलमा नौ चौकासहित ७७ रन बनाए । ७६–४ को अवस्थामा रहँदा रोहितले पाँचौँ विकेटका लागि आरिफ शेखसँग ८६ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए । आरिफले ५२ बलमा पाँच चौकासहित ४३ रन बनाए । त्यसअघि, २२–३ को अवस्थाबाट रोहितले भीम सार्कीसँग ५४ रनको साझेदारी गरेका थिए । भीमले ३७ बलमा चार चौकासहित २९ रन बनाए ।

अन्तिम १० ओभरमा गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले ४२ रनको साझेदारी गरेपछि नेपाल बलियो योगफलतर्फ अघि बढेको थियो । गुल्सनले ३२ बलमा तीन छक्का र एक चौकासहित ३७ रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका दीपेन्द्र १९ बलमा तीन चौका दुई छक्कासहित ३४ रन बनाएर आउट भए ।

यूएईका आयान अफ्जल खान, जवर फरिद, जहुर खान र रोहन मुस्तफाले समान दुई विकेट लिए । आर्यन लक्रा र जुनैद सिद्दिकी एक/एक विकेट विकेट लिए ।

शृंखलामा नेपाल, यूएई र पपुवा न्युगिनी (पीएनजी) सहभागी छन् । दुवै टिमको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपालले पीएनजीलाई ५२ रनले हराएको थियो । यूएई भने पीएनजीसँग ५६ रनले पराजित भएको थियो । सोमबार नेपालले शृंखलाको आफ्नो तेस्रो खेलमा पीएनजीसँग प्रतिस्पर्धा गर्नेछ ।