आधुनिक प्रविधि मार्फत शिक्षा
११ फागुन, रौतहट । रौतहटको गौरमा रहेको जुद्ध माध्यमिक विद्यालयमा आधुनिक प्रविधि मार्फत पठनपाठन शुरु भएको छ ।
गौर नगरपालिकाका मेयर शम्भू साहले हिजो एक कार्यक्रमका बिच नेपालको चौथो पुरानो विद्यालय जुद्ध माध्यमिक विद्यालयमा अत्याधुनिक प्रविधि मार्फत अध्यापन कार्यको उदघाटन गरेका थिए ।
“गत माघ १८ गते विद्यालयको वार्षिकोत्सव कार्यक्रममा आधुनिक प्रविधि मार्फत कक्षा संचालन गर्ने घोषणा भएको थियो ।” नगर प्रमुख साहले भने “हिजोबाट आधुनिक प्रविधि मार्फत कक्षा संचालन शुरु भएको छ ।” गौर नगरपालिकाले ११ लाख ८५ हजार खर्चेर जर्मनीबाट आवश्यक शैक्षिक सामग्रीको व्यवस्थापन गरिएको विद्यालयले जनाएको छ ।
गौर नगरपालिकामा रहेका विद्यालयहरुको स्तर सुधार तथा विद्यार्थीहरुको सिकाइलाई प्रभावकारी बनाएर समग्र शिक्षाको गुणस्तर सुधारका लागी आफुले काम गरिरहेको नगर प्रमुख साहले बताए । हाल जडान भएको प्रविधिले एसईई तयारीका विद्यार्थीका लागि मात्रै प्रयोग हुने भए पनि क्रमशः अन्य विद्यार्थीमा पनि लागू गर्ने उनले बताए ।
जुद्ध माध्यमिक विद्यालयमा जडान भएको यो प्रविधिले कम समय र विषयगत शिक्षकको अनुपस्थितिमा पनि अडियो भिडियो माध्यमबाट कक्षा संचालन गर्न सकिने छ । इटालीयन प्रविधिको डिजिटल प्यानल, बोर्ड जडान गरिएको विद्यालयका प्रधानाध्यापक कामोद तिवारीले बताए ।