शनिबार सचिवालय बैठक बस्ने

   १२ मंसिर २०७७, शुक्रबार १४:२६  

१२ मंसिर, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्ने भएको छ ।

कार्यकारी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले राखेको राजनीतिक प्रस्तावको जवाफमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रस्ताव राख्ने छन् ।

यही ३ मंसिरमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले आफुले राजनीतिक प्रस्ताव राख्ने जानकारी दिएपछि दश दिनपछि बस्ने गरी बैठक स्थगित भएको थियो ।

सचिवालय बैठकमा अध्यक्ष दाहालले अध्यक्ष ओलीप्रति गम्भीर आरोपसहित राजनीतिक प्रस्ताव राखेका छन् । अध्यक्ष दाहालले राखेको प्रस्ताव र आरोपको जवाफमा अध्यक्ष ओलीले प्रस्ताव तयार पारेको स्रोतले जनाएको छ ।

अध्यक्ष ओलीले आफु निकटका सचिवालय सदस्य, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरुसँग समेत छलफल गरेर प्रस्ताव तयार पारेको स्रोतले जनाएको छ । त्यसैगरी उनले कही तटस्थ बसेका नेताहरुसँग पनि छलफल गरेका थिए ।

उनले आफ्नो प्रस्ताव बिहीबारसम्म करिव अन्तिम रुप दिएको स्रोतको भनाई छ ।