नेताहरुसँगको परामर्श र छलफललाई प्रचण्डले पनि दिए तीव्रता
९ मंसिर, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको विवाद बढेसंगै दोस्रो तहका नेताहरुले भेटघाट र छलफललाई तीव्रता दिएका छन् ।
नेताहरुसँगको परामर्श तथा छलफललाई अध्यक्ष प्रचण्डले पनि तीब्र बनाएका हुन् ।
केही दिन यता निरन्तर छलफल गर्दै आएका अध्यक्ष प्रचण्डले सोमबार स्थायी कमिटी सदस्यद्वय टोपबहादुर रायमाझी र हरिबोल गजुरेलसँग कुराकानी गरेका छन् । भेटमा उनले ओलीको राजनीतिक दस्ताबेज आएपछि व्यवस्थित छलफलको विधिबाट पार्टीलाई नयाँ उचाइमा एकताबद्ध बनाउन सकिने सम्भावना औँल्याएका छन् ।
भेटपछि नेता गजुरेलले पार्टीलाई फुटबाट जोगाउनका लागि दुवै अध्यक्षको भूमिका महत्वपूर्ण हुने प्रचण्डले बताएको उल्लेख गरे । नेताहरूसँगको भेटमा प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टी स्थायी कमिटीको निर्णय नमानेका कारण अहिलेको अवस्था आएको बताएका छन् । नेकपाको सचिवालय बैठक यही मंसिर १३ गते बस्दै छ ।