काठमाडौँ उपत्यकामा तीन साताको कडा लकडाउन गर्नका लागि जिल्ला अधिकारीहरु र सरकारलाई सुझाव
७ मंसिर, रौतहट। कोरोना भाइरस (कोभिड १९)का कारण काठमाडौं उपत्यकामा कम्तिमा दुईदेखि बढीमा तीन साताको कडा लकडाउन गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र सरकारलाई सुझाव आएको छ ।
महानगर तथा नगरपालिकाका मेयरहरुको संगठन मेयर्स फोरमले कोरोना संक्रमण थप फैलन नदिन र नियन्त्रणमा ल्याउन काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र सरकारलाई सुझाव दिएका हुन् ।
काठमाडौं उपत्यकामा मात्रै एक लाखभन्दा बढी कोरोना संक्रमितहरु छन् । शनिबारसम्म मुलुकभर संक्रमितको संख्या दुई लाख १८ हजार छ, सय ३९ रहेको छ भने मृतकको संख्या एक हजार तीन सय पाँच जना पुगेको छ ।
कोभिड–१९ महामारीको दोस्रो चरण देखिएपछि युरोपका धेरैजसो मुलुकमा पुनः लकडाउन शुरु भएकोले काठमाडौं उपत्यकामा पनि शंकास्पद सबैको स्वाब परीक्षण गर्न र कन्ट्याक्ट ट्रेसिङ्ग गरी महामारी नियन्त्रणको लागि कम्तिमा दुई र बढीमा तीन साताको लकडाउन आवश्यक भएको फोरम प्रवक्ताले बताएका छन् ।
तर फोरमले सरकारलाई आफ्नो प्रस्ताव बुझाएपनि यस सम्बन्धमा अन्तिम निर्णय भने सरकारले नै गर्नुपर्ने हुन्छ ।