ओलीको आलोचना गर्दै १९ पेजको प्रस्ताव पेश

   ४ मंसिर २०७७, बिहीबार १२:४३  

४ मंसिर, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावसँगै अहिलेसम्म भएका सहमति र समझदारीको अन्त्यको घोषणा गरेको बताएका छन्।

गत कात्तिक २८ को सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको आलोचना गर्दै १९ पेजको प्रस्ताव पेश गरेका थिए।

उक्त प्रस्तावबारे प्रसंग निकाल्दै अध्यक्ष ओलीले बुधबारको सचिवालय बैठकमा पुराना सहमति कायम रहेको अवस्था नरहेकोले नयाँ निकास खोज्नु पर्ने बताएका हुन्।

‘अस्तिको प्रस्ताव नामक अभियोगपत्र आइसकेपछि यसअघिका हाम्रा सहमति, समझदारीको त त्यसैले अन्त्यको घोषणा गप्यो। त्यो पत्र बन्नुभन्दा पछि पुराना सहमति कायमै छन् भन्ने कुरा रहेन,’ अध्यक्ष ओलीले भने, ‘अब पुराना सहमति कायम रहेको अवस्था नरहेको हुनाले एउटा नयाँ निकास पार्टीले खोज्यो। हामीले एउटा नयाँ निकास खोज्नैपर्छ।

म चाहन्छु मिलेर जाऔं, मिलेर जान सकियोस्, पार्टी बचाउन सकियोस् र पार्टीलाई ऐक्यवद्ध राख्न सकियोस्।’