प्रचण्डसहित ५ नेता धुम्बाराहीमा बैठक बस्दै
२५ कार्तिक, रौतहट । नेपाल कम्युनिष्ट पाटी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक नबोलाएको भन्दै आक्रोसित बनेका बहुमत सचिवालय सदस्यहरु मंगलबार भेला हुने तयारीमा छन् ।
आज ४ बजेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छलफल हुने बताइएको हो ।
उनीहरूले पार्टी कार्यालय धुम्बाराहीमा भेला गर्ने तयारी गरेका प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले यसबारेमा टुंगो लागिनसकेको प्रतिक्रिया दिए ।
यसअघि बहुमत सचिवालय सदस्यहरूले यही कार्तिक २२ गते (शनिबार) प्रधानमन्त्री ओलीलाई भेटेर सचिवालय बैठकका लागि पत्र बुझाएका थिए ।
सचिवालय सदस्यहरूले बुझाएको पत्रका आधारमा विधान अनुसार बैठक बोलाउने महासचिव विष्णु पौडेलले अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए ।
स्रोतका अनुसार सचिवालय सदस्यहरूले बुझाएको पत्रमा प्रधानमन्त्री ओलीले विधान अनुसार गर्नु भनेर तोक लगाएका थिए ।
प्रचण्डसहित ५ सचिवालय सदस्यहरू भने बैठक आह्वान गर्न ढिलो गर्न नहुने अडानमा छन् ।