अमेरिकी राष्ट्रपति बाइडेनः ”जनताले गरेको विश्वासप्रति म निकै खुशी छु”

   २३ कार्तिक २०७७, आईतवार ११:१७  

२३ कात्तिक, रौतहट । अमेरिकाका लागि राष्ट्रपति निर्वाचित भएपछि जो बाइडेनले आफू रंगवाला राज्य होइन संयुक्त राज्य अमेरिका देख्ने बताएका छन्।

डेमोक्र्याटिक पार्टीका उम्मेद्वार बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गर्दै विजयी भएपछि पहिलो सम्बोधनमा भने, ‘म रातो रंग, निलो रंगवाला राज्य देख्दिन संयुक्त राज्य अमेरिका देख्नेछु।’

उनले आफूलाई विश्वास गरेकोमा सम्पूर्ण अमेरिकी जनतालाई धन्यवाद दिए।

राष्ट्रपति बाइडेनले सम्बोधन गर्दै भनेका छन्, ‘मलाई अमेरिकी जनताले गरेको विश्वासप्रति म निकै खुशी छु। म तोड्नेभन्दा जोड्ने काम गर्नेछु। मनैबाट म तपाईंहरु सबैको विश्वास जित्ने प्रयास गर्ने छु।’

बाइडेनले आफ्नो प्रमुख काम कोरोना भाइरस महामारी नियन्त्रणमा केन्द्रित हुने बताएका छन्। त्यसका लागि उनले सोमबार एक समिति घोषणा गर्ने र त्यसमा शीर्ष वैज्ञानिक र विशेषज्ञहरु रहने बताएका छन्।

त्यसले कोभिड–१९ नियन्त्रणको योजनाका लागि काम गर्ने उनले बताउँदै भने, ‘योजनालाई ०२० को २१ जनवरीबाट लागु गरिनेछ।’

अमेरिकी नागरिक कसैलाई पनि भेदभाव नगरी साथमा लिएर अगाडि बढ्ने भन्दै उनले सबैसँग मिलेर काम गर्ने र मुलुकको मेरुदण्डलाई फेरि एक पटक उभ्याउने बताए।