बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता सुरु
२० कार्तिक, रौतहट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ ।
ओलीलाई भेट्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । बुधबार भेट गर्ने भनिएपनि पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नीको निधनका कारण प्रचण्ड बालुवाटार गएका थिएनन् ।
उता, बुधवारमात्रै प्रधानमन्त्री ओलीले आफूको राजीनामा मागिएको तर कुनै पनि हालतमा राजीनामा नदिने बताएका थिए।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन कार्यक्रममा उनले कुनै हालतमा राजीनामा नदिने बताएका थिए।
मन्त्रिपरिषद् पुनर्गठन, राजदूत नियुक्ति, कर्णालीका प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव रअ प्रमुख र प्रधानमन्त्री बीच भेट लगायतका विषयले पार्टीको शीर्ष तहमा विवाद चर्केको हो।
दुई अध्यक्षको छलफलले मात्र पार्टीमा देखिएको विवाद समाधान नहुने भन्दै नेताहरुले बैठकको माग पनि गरिरहेका छन्।






