सर्लाहीमा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु

   ५ पुष २०७९, मंगलवार १०:४३  

५ पुस, सर्लाही । चिसोले कठ्याङ्ग्रिएर सर्लाहीमा २ जना किसानको मृत्यु भएको छ ।

जिल्लाको हरिपुर नगरपालिका वडा नम्बर ९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर हरिपुरक ९ कै ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका ६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ज्याला मजदुरी गर्दै आएको रमेश मंसिर २४ गते धान काट्ने काम गरेर घर आएपछि पराल ओछ्याएर सुतेका थिए । परालको ओछ्यान गरेर सुतेको रमेशको चिसोले कठ्याङ्ग्रिएर त्यहीँ मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, ओछ्याएन नभएको कारण भूई मै सुत्न बाध्य भएका ६५ वर्षीय रामभगत माझीको पनि चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।