ओली र दाहालको केन्द्रीय कमिटी बैठक प्रभावित

   १३ कार्तिक २०७७, बिहीबार १५:४२  

१३ कार्तिक, रौतहट । दुई अध्यक्षबीचको बढ्दो मनमुटावले नेकपाको केन्द्रीय कमिटी बैठक प्रभावित भएको छ । गत २६ भदौमा सकिएको स्थायी कमिटी बैठकले तत्कालका लागि पार्टीको अन्तरविरोध हल गर्दै कार्तिक १५ देखि १६ सम्मका लागि केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।

केन्द्रीय कार्यालयका सचिवद्धय श्रीराम ढकाल र इश्वरी रिजालले केन्द्रीय सदस्यलाई पठाएको सूचनामा ‘कार्तिक १५ गतेदेखि आयोजना गरिएको तेश्रो पूर्ण बैठक कोभिड–१९ महामारीका कारण स्थगित गरिएको’ उल्लेख छ । स्थगित बैठक बैठक आगामी मंसिर १५ देखि १७ मा आयोजना हुने सूचना दिइएको छ ।

तर, दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच उत्पन्न मतभेदले वैठक प्रभावित भएको सचिवालयका एक सदस्यले बताए । मन्त्रिपरिषद् हेरफेर, कर्णाली विवाद र रअ प्रमुखको नेपाल भ्रमणले ओली र दाहालबीच तिक्तता बढाएको छ । विगत एक सातादेखि ओली र दाहालबीच संवादसमेत भएको छैन । कर्णाली विवादमा उनीहरुले भिन्दाभिन्दै निर्देशन जारी गरेका थिए ।

केन्द्रीय कमिटीको दोस्रो बैठकले तय गरेको मिति चैत २५ देखि ३०मा एकताको राष्ट्रिय महाधिवेशन काठमाडौँमा सम्पन्न गर्ने निर्णयअनुसार त्यसमाथि थप तयारीका लागि स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको बैठक आयोजना गर्ने निर्णय गरेको थियो । ‘महाधिवेशनसम्बन्धी कार्ययोजना पारित गर्न कात्तिक १५ देखि १७ गते केन्द्रीय कमिटीको बैठक आयोजना गर्ने’ स्थायी कमिटीको निर्णयमा थियो । केन्द्रीय कमिटीको बैठक प्रभावित भएलगत्तै त्यहाँबाट गर्ने भनिएका काम रोकिने र त्यसले महाधिवेशन अनिश्चत गराउने केही नेताहरुको आंशका छ ।

केन्द्रीय कमिटीको बैठक अगाडि सचिवालयले महत्वपूर्ण निर्णय लिनुपर्ने भए पनि पार्टीभित्र बढ्दो अविश्वासले सचिवालय बैठक सम्भव भएको छैन् । स्थायी कमिटीमा केन्द्रीय कमिटीको बैठकका लागि केन्द्रीय सचिवालयबाट महाधिवेशन आयोजनाको तयारीका लागि दस्तावेज मस्यौदा कमिटी, मूल व्यवस्थापन कमिटीलगायत अन्य आवश्यक संरचना, प्रतिनिधि छनोट विधि र कार्यतालिका लगायत समग्र कार्ययोजना प्रस्तुत गर्ने निर्णय थियो ।