कैलालीका थप दुई संक्रमितको मृत्यु

   ५ कार्तिक २०७७, बुधबार १४:२०  

५ कार्तिक, रौतहट । कोरोना संक्रमणका कारण कैलालीमा थप दुई जनाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ६० वर्षीय व्यापारी र धनगढीकै ६८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

धनगढीका ६० वर्षीय व्यापारीको भने उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको हो । दुई साताअघि धनगढीमा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो ।

स्वास्थ अवस्था जटिल भन्दै गएपछि उपचारका लागि लखनउ लगिएकोमा उनको त्यहाँ उपचारकै क्रममा सोमबार मृत्यु भएको हो ।

यस्तै, सेती प्रादेशिक अस्पतालका अनुसार गत असोज २८ गते कोरोना संक्रमण पुष्टि भएका ६८ वर्षीय पुरुषको अवस्था गम्भीर भएपछि उनलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।

उनी कोरोना पुष्टि भएदेखि होम आइसोलेसनमा बस्दै आएका थिए । नेपाली सेनाले उनको शव व्यवस्थापनको तयारी थालेको छ ।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ