कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु
३ कार्तिक, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।
प्रतिष्ठानमा एक जना र चितवन मेडिकल कलेजमा एक जना गरी थप दुई जनाको मृत्यु भएको हो ।
सुनसरीको इटहरी–२० बस्ने ७८ वर्षीय पुरुषको उपचारकै क्रममा सोमबार बिहान ३ः०५ बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
रक्तअल्पताबाट पीडित उनमा यही असोज १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । दोस्रो पटक कात्तिक १ गते पनि उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा असोज १९ गते भर्ना भएका थिए ।
त्यस्तै, चितवन मेडिकल कलेज (सीएमसी)मा भरतपुर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको आज बिहान ४ बजे मृत्यु भएको सीएमसीका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।
ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएपछि उनलाई यही असोज २० गते अस्पताल भर्ना गरिएको थियो ।
उच्च रक्तचाप, प्रोस्टेट र थाइराइडबाट पनि पीडित ती पुरुषमा असोज २० गते नै कोरोना संक्रमण पुष्टि भएको थियो ।