दशैंको मुखमै रौतहटका शक्ति पीठमा निषेधाज्ञा

   ३० आश्विन २०७७, शुक्रबार १७:२९  

 

३० असोज, रौतहट ।  दशैको पूर्व सँध्यामा जिल्ला प्रशासन कार्यालय रौतहटले निशेधाज्ञा जारी गरेको छ । चाडपर्वको अवसरमा सावधानी अपनाउन भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले दशैमा घटस्थापना देखी नवमी सम्म शक्ति पीठ तथा मन्दीरहरु नित्य पूजा बाहेक दर्शनको लागी जमघट हुन नदिन सूचना जारी गरेको छ । कोरोना संक्रमणको फैलदो जोखिमलाई मध्यनजर गर्दै सबै शक्ति पीठ तथा मन्दीरहरुमा नित्य पूजा बाहेक दर्शनका लागी जमघट नहुने, चाडपर्व परिवारजनका बिच मात्रै मनाउने तथा जात्रा, मेलाहरु आयोजना नगर्न निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय रौतहटले कुनै पनि भेला जमघट नगरी घरमै बसेर चाडपर्व मनाउन अनुरोध गर्दै पर्वको शुभकामना आदान प्रदान, देउसी भैलो, खेलकुद लगायतका सबै क्रियाकलाप संचालनमा बन्देज लगाएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोविड १९ को संक्रमण चाडबाडको बेला झनै फैलिने खतरा रहेकोले सो को नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

चाडबाडका बेला धार्मिक, सामाजिक, साँस्कृतिक सदभाव बिथोल्ने गतिविधी नगर्न, ध्वनी प्रदुषण हुने गरी चर्को स्वरमा माइक नबजाउन, जुवा तास नखेल्न समेत जिल्ला प्रशासन कार्यालय रौतहटले अनुरोध गरेको छ ।