अग्रेंजी माध्यमको नाममा शुल्क उठाउदै सामुदायीक विद्यालय

   २९ आश्विन २०७७, बिहीबार १३:४४  

 

२९ असोज, रौतहट । सरकारले शिक्षाको पहुच सबैमा पुगोस भन्ने उदेश्यका साथ सामुदायीक विद्यालयमा माध्यमिक सम्मको शिक्षालाई निशुल्क गरेको छ ।

अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ मा समेत सार्वजनिक विद्यालयले माध्यमिक तह सम्मको शिक्षामा कुनै पनि बहनामा शुल्क लिन मनाही गरेको छ । तर रौतहटको गौरमा रहेको देशकै जेठो मध्येको एक जुद्ध उच्च माध्यमीक विद्यालयमा भने विद्यार्थीहरुबाट गैरकानूनी तरिकाले शुल्क उठाउने गरिएको छ ।

दुई थरिको शिक्षा प्रदान गरिरहेको सो विद्यालयले नेपाली माध्यममा पढने विद्यार्थीहरुलाई निशुल्क र अग्रेंजी माध्यममा पढने विद्यार्थीहरुले बोर्डिङ्ग स्कूलमा झै मासिक शुल्क, भर्ना शुल्क, परीक्षा शुल्क र पाठयपुस्तकको समेत शुल्क तिर्नु परेको विद्यार्थी तथा अभिभावकले बताएका छन ।

एउटै विद्यालयमा दुई थरिको शिक्षाले सार्वजनिक विद्यालय भित्र पनि धनि र गरिबको वर्गिकरण भएको स्थानीयको ठम्याई छ । एउटै भवन भित्र दुई किसिमको पठनपाठन र शिक्षा नियमावलीको खिल्ली उडाउदै मासिक शुल्क सहितको विद्यालय संचालन हुदा समेत सम्बन्धीत निकायले वेवास्ता गरेको स्थानियको आरोप छ । विद्यालयले नयाँ भर्ना हुन गएका विद्यार्थीहरुबाट यस शैक्षिक सत्रमा नामांकनको तिन सय, मासिक शुल्क सात सय, परिचय पत्र कार्डको १ सय २० र परीक्षा शुल्क एक सय रुपैंयाका दरले रकम उठाएको छ ।

कक्षा ९ मा नयाँ भर्ना भएका विद्यार्थीबाट एकमुष्ठ २ हजार ७ सय २० रुपैंया लिएको विद्यालयले कक्षा अनुसार शुल्क निर्धारण गरेको छ । समुदयमा रहेका सार्वजनिक विद्यालयहरुले शिक्षा नियमावलीको विरुद्ध विद्यार्थीबाट शुल्क उठाउन थाले पछि विभिन्न विद्यार्थी सँगठनहरुले सो कार्यको विरोध गरेका छन । “जुद्ध उच्च माध्यमिक विद्यालयले अग्रेंजी माध्यमको बहानामा सरकारी विद्यालय भित्रै अर्को एक विद्यालय खडा गरेर विद्यार्थी बाट शुल्क उठाएको भेट्टिएको छ ।” अनेरास्वयूका केन्द्रीय सदस्य रवि मिश्रले भने “यसरी नियम विपरीत शुल्क उठाउदा समेत सम्बन्धीत निकाय मौन भएर बसेको छ । सरकारले भनेको अनिवार्य निशुल्क शिक्षाको जुद्ध विद्यालयले खिल्ली उडाएको छ ।” विद्यार्थी सँगठनहरुले यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन ।

विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी नहुदा आफुहरु समस्यामा परेको जुद्ध उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्देश्वर राउतले बताए । विद्यार्थी सँख्या अत्याधिक भएको र शिक्षक दरबन्दी कम भए पछि विद्यालयले आफ्नै श्रोतमा अग्रेंजी माध्यमको कक्षा संचालन गरेको र सोही अनुरुप तिन सय देखी सात सय सम्म शुल्क तोकिएको प्रधानाध्यापक राउतले बताए । अग्रेंजी माध्यममा पठापाठन गराउने शिक्षकहरुको तलब समेत न्यून रहेको उनले बताए ।