डेढ लाखको पटाका बरामद
२८ असोज, रौतहट । रौतहट सिमा नाकासंग जोडिएको भारतीय क्षेत्रबाट नेपाल भित्रयाइएको करिब डेढ लाख मूल्य बराबरको पटाका नेपाल प्रहरीले बरामद गरी नष्ट गरेको छ ।
रौतहटको भारतसंग जोडिएका चोर बाटोमा प्रहरीले विषेश निगरानी बढाउँदा विभिन्न क्षेत्रमा चेकजाँच गर्ने क्रममा चाँडपर्व दिपावली र छठमा पड्काउनका लागि ल्याएको पटाकाहरु बरामद भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिविक्रम शाहले बरामद भएको पटाका जिल्ला प्रशासन कार्यालय ल्याएर संचारकर्मीहरुको उपस्थितिमा सार्वजानिक गरेका छन् ।
यस्ता कार्यमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर ऐन कानुन बमोजिम कारवाही गरेमा विस्फोटक पदार्थ ओसार पोसार गर्ने कार्य विस्तारै बन्द भएर जाने प्रतिक्रिया दिएसँगै बरामद भएको पटाकालाई आजै साँझ नष्ट गरिने शाहले बताए ।
प्रहरीले बरामद गरेको पटाकाको मूल्य करिब डेढ लाख रहेकोसमेत उनले जानकारी दिएका छन् ।