सरकारसंग सहमति भएपछि; डा केसीले २७ औँ दिन तोडे अनसन
२५ असोज, रौतहट । चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै डा. गोविन्द केसीले २७ निदपछि अनसन तोडेका छन् ।
शनिबार राति सरकारसंग ८ बुँदे सहमति भएपछि, आइतबार बिहान ९ बजे डा. केसीले अनसन तोडेका हुन् ।
डा. केसीले कोरोना भाइरस (कोभिड १९)का संक्रमण भएर कोरोनामुक्त भएका त्रिवि शिक्षक अस्पतालका एक ४६ वर्षीय सफाई कर्मचारीको हाथबाट जुस पिएर अनसन तोडेका छन् । शनिबार मध्यरातमा डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपिनाथ मैनालीले सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।
तर, के भयो सहमति ?
डा. केसी र सरकारबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमाआगामि वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ ।
त्यस्तै, भौतिक पूर्वाधार निर्माणसहित सबै कानुनी प्रक्रिया पूरा गरेर आगामी २०८० साल फागुन १० गतेभित्र सुदूरपश्चिम प्रदेशको गेटा, प्रदेश २ को बर्दिबास, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सहमति पनि दुई पक्षबीच भएको छ ।
डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउने, (कोभिड १९) को पिसिआर परीक्षण विस्तार गर्ने, वयलपाटा अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्न बजेटको व्यवस्था गर्ने सहमति पनि सरकार र डा. केसीबीच भएको छ ।
यस्तै विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निस्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा नियुक्त गर्ने सहमति भएको छ ।
डा. केसीले ८ बुँदे माग राखेर जुम्लामा भदौ २९ गते अनशन थालेका थिए ।