शुक्रबार थपिए २०५९ कोरोना संक्रमित, संक्रमितको संख्या १ लाख नाघ्यो

   २३ आश्विन २०७७, शुक्रबार १६:५५  

२३ असोज, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५९ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा दिएका जानकारी अनुसार १३ हजार २ सय ७९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ५९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । योसंगै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६ सय ७६ पुगेको छ ।

हाल देशमा संक्रिय कोरोना संक्रमितको कुल संख्या २७ हजार ५३ रहेको मन्त्रालयले जानकारी दिए । जसमध्ये संस्थागत आइसोलेशनमा ११ हजार १ सय ७६ र होम आइसोलेशनमा १५ हजार ८ सय ७७ जना रहेका छन् ।

यस्तै, बितेको २४ घण्टामा थप १ हजार ६ सय ८० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्, भने यससंगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या ७३ हजार २३ पुगेको छ ।

यसैबीच विगत २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ, भने हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेहरुको कुल संख्या ६ सय पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौँमा १ हजार १ सय १६, भक्तपुरमा १ सय ३० र ललितपुरमा १ सय ६३ जना कोरोना सक्रमित थपिएका हुन् ।