प्रेमीलाई फसाउन प्रेमीकाको शव प्रेमीको घरमा
२२ असोज, रौतहट । रौतहटमा बुधवार साँझ शंकास्पद मृत्यु भएको अवश्थामा शव फेला परेकी युवतिको प्रेम सम्बन्धका कारण ज्यान गएको खुलेको छ । युवतिको मृत्यु पछि प्रहरीले नीजका काका र काकीलाई नियन्त्रणमा लिएको छ ।
रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नं.४ छतौना टोल वस्ने लाल महम्मद धुनियाको १७ वर्षीया छोरी रोबिना मन्सुरीको शव बुधवार साँझ फेला परेको थियो । मृतक युवतिको स्थानिय जुनैद कवारी सँग प्रेम सम्बन्ध रहेकोमा मृतकको परिवारलाई सो सम्बन्ध स्वीकार्य नभएको कारण दुवै परिवारमा पटक पटक विवाद समेत भएको प्रहरीले जनाएको छ । मृतक रोबिना र जुनैदले पारिवारिक अवरोधका बिच पनि प्रेम सम्बन्धलाई निरन्तरता दिइ रहेको थिए ।
परिवारजनका सदस्यहरुले युवतिका शव बोकेर युवकको घरमा पु¥याउदै गरेको देखे पछि स्थानियले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए । युवतिको शव युवकको घरमा राखेर फसाउन खोजेको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको डिएसपी श्रेष्ठले बताए ।
युवतीका काकाहरु फुल महम्मद, लाल महम्मद, नसरुद्धिन मन्सुरी, काकी सहनाज मन्सुरीले शवलाई बोकेर जुनैद कवारीको घरमा लगेर राखेका थिए । जुनैदको घरका सदस्यहरु बाहिर रहेको बेला युवतिका परिवारजनले शव जुनैद कवारीको भाउजु बस्ने कोठामा राखेको प्रहरीले जनाएको छ ।
मृतक युवतिको घाँटीमा डोरीको जस्तो डोब देखिए पछि हत्या वा आत्महत्या के हो भन्ने खुल्न बाँकी रहेको डिएसपी श्रेष्ठले बताए । अनुसन्धानका क्रममा मृतक युवतिका काका फुल महम्मद मन्सुरी र काकी सहनाज मन्सुरीलाई नियन्त्रणमा लिएको उनले बताए । मृतक रबिनाको शव पोष्टमार्टमका लागी नारायणी उपक्षेत्रिय अस्पताल वीरगंज पठाइएको छ ।