नेपालमा थपिए ४३३६ कोरोना संक्रमित
२२ असोज, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ३६ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा दिएका जानकारी अनुसार बितेको २४ घण्टामा १८ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ३ सय ३६ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । यससंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।
हाल देशमा कोरोना भाइरसको सक्रिय संक्रमितको कुल संख्या २६ हजार ६ सय ८४ रहेको छ । जसमध्ये संस्थागत आइसोलेशनमा ११ हजार ७ सय १७ र होम आइसोलेशनमा १४ हजार ९ सय ६९ रहेका मन्त्रालयले जनाएका छन् ।
त्यस्तै, विगत २४ घण्टामा थप २ हजार ६ सय ७५ जनाले कोरोना जितेर डिस्चार्ज भएको छन्, भने योसंगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेहरुको कुल संख्या ७१ हजार ३ सय ४३ पुगेको छ ।
यसैबीच कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगिसकेको छ ।
यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा २ हजार ८५, भक्तपुरमा १ सय ३५ र ललितपुरमा ३ सय २० नयाँ कोरोना संक्रमित थपिएका छन् ।