कोरोना संक्रमणबाट थप चार जनाको निधन

   २० आश्विन २०७७, मंगलवार ११:०२  

२० असोज, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण नेपालमा थप ४ जनाको मृत्यु भएको छ । चितवनमा एक जना, बिराटनगरमा दुई जना र धरानमा एक जना गरी थप चार जनाको मृत्यु भएको हो ।

कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको मंगलबार विहान चितवन मेडिकल कलेज (सीएमसी)मा मृत्यु भएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालले सघन उपचार कक्षमा उपचाररत ती वृद्धको मृत्यु भएको हो ।

निमोनिया र श्वासप्रश्वासबाट समस्या भइ उनी यही असोज १६ गते अस्पतालमा भर्ना भएका थिए । उनलाई उपचारका क्रममा असोज १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै, नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङ कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको आज बिहान करिब ३ बजे मृत्यु भएको छ । उनमा ब्लड क्यान्सरको समस्या थियो ।

यस्तै, सुन्दरहरैचा नगरपालिका–४ का ४५ वर्षीय पुरुषको पनि आज बिहान निधन भएको छ । उनमा छ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो, र उनमा मधुमेहको पुरानैसमस्या पनि रहेको दाहालले जानकारी दिए ।

यसैबीच, सुनसरीको धरान उपमहानगरपालिका ३ बस्ने ६४ वर्षीय वृद्धको आज बिहान ४ः२० बजे निधन भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

असोज १२ गते पीसीआर परीक्षण गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएपछि, र कोरोनासंग मिल्ने लक्षण देखिएपछि, उनलाई सोही दिन आइसोलेशनमा राखेर उपचार थालिएको थियो ।

मृतकमा मधुमेह र मुटु सम्बन्धी समस्यासमेत रहेको श्रेष्ठले बताए ।