१६ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ ।
निगमका अनुसार पेट्रोलको मूल्य ५ रुपैयाँ र डिजेल तथा मटितेलमा २ रुपैयाँ बढाएको छ। मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाइएको जानकारी निगमले दिएको छ । योसँगै पर्सा (वीरगञ्ज) लगायत तराईका जिल्लामा पेट्रोलको मूल्य बुधबारबाट ९९ दशमलव ५ रुपैयाँ र डिजेलको मूल्य ८५ दशमलव ५ रुपैयाँ पुग्ने भएको छ।
एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जानकारी दिएको छ । गत २० चैतमा पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएयता निगम मूल्य समायोजन गरेको थिएन ।
बजारमा खपत नै नभएको भन्दै उच्च नाफा कमाउँदा पनि निगमले तेलको भाउ घटाएन । जेठको दोस्रो हप्ता पेट्रोल बिक्रीमा प्रतिलिटर २२ रुपैयाँ ४५ पैसा डिजेलमा पनि प्रतिलिटर २५ रुपैयाँ ६९ पैसा र मटितेल ५५ रुपैयाँ ३५ पैसा नाफा हुँदा पनि निगमले भाउ घटाउन चासो दिएन ।
खपत नभएकाले मूल्य समायोजन नएको तर्क गर्दै आएको निगमले नयाँ मूल्य सूची आउनुभन्दा एक दिनअघि नै गत जुन १६ गते प्राप्त नयाँ मूल्य सूचीअनुसार मूल्य बढाएको छ ।
लकडाउन विस्तारै खुकुलो हुँदै गएपछि अधिक नाफा कमाउने उद्देश्यले निगमले मूल्य समायोजन गरेको थियो । निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा नघटाउन तर थोरै बढ्नासाथ नाफमा असर नपर्ने गरी मूल्य बढाइहाल्ने गरेको छ ।
सरकारले बजेटमार्फत पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ थप पूर्वाधार कर लगाएको छ । अब त्यसको भारी सिधै उपभोक्ता माथि परेको छ । बजेटपछि करको भार उपभोक्तालाई नपर्ने तर्क भइरहँदा निगमले भने आफ्नो नाफाको दर कम हुन दिएको छैन ।