नेपालमा थपिए २७२२ कोरोना संक्रमित, काठमाडौँ उपत्यकामा मात्रै १६ सय बढी

   १६ आश्विन २०७७, शुक्रबार १७:०९  

१६ असोज, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा दिएका जानकारी अनुसार १४ हजार ७ सय ३९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७ सय २२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । योसंगै कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ८२ हजार ४ सय ५० पुगेको छ ।

जसमध्ये ९ हजार ४ सय ७४ संस्थागत आइसोलेशनमा र ११ हजार ७ सय ६० जना होम आइसोलेशनमा रहेका छन् ।

त्यस्तै, बितेको २४ घण्टामा थप ३ हजार ३ सय ७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्, भने यससंगै कोरोनामुक्त हुनेको कुल संख्या ६० हजार ६ सय ९६ पुगेको छ ।

त्यसैगरी, बिगत २४ घण्टामा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या ५ सय २० पुगेको गौतमले जनाएको छ ।

यस्तै, नेपालमा संक्रमणमुक्त हुने दर ७३ः६ प्रतिशत रहेको छ । आइसीयूमा २ सय १० जना र भेन्टिलेटरमा २९ जना उपचाररत रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्याकामा १६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मनत्रालयका अनुसार काठमाडौँमा १ हजार २ सय ८०, ललितपुरमा १ सय ६२, र भक्तपुरमा १ सय ९६ जना गरी १६३८ जना थपिएका छन् ।