कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु
१५ असोज, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ । रौतहटका एक जना, बुटवलका एक जना र इटहरीका एक जना गरी थप तीन जनाको मृत्यु भएको हो ।
रौतहट जिल्लाको ईशनाथ नगरपालिका ४ का ७४ वर्षीय पुरुषको बिहीबार बिहान ८ः२५ बजेको समयमा मृत्यु भएको मेडिकल कलेजका कोभिड फोकल पर्सन डाक्टर असरफ हुसैनले जानकारी दिए । असोज ९ गते उनमा कोरोना पुष्टि भएपछि, नेशनल मेडिकल कलेजले सञ्चालन गरेको अस्थायी कोरोना अस्पताल (बाबा होटल आइसोलेसन) मा उपचारको गराइरहेका थिए ।
‘विरामीको मुटुको गति पनि अस्थिर भएको र कोभिड संक्रमणका कारण शरीरमा अक्सिजन मेन्टेन भइरहेको थिएन, भर्ना भएदेखि नै हाई फ्लोमा अक्सिजन दिएर आईसियुमा राखेका डाक्टर हुसैनले भने, ‘बिहान तीन बजेदेखि उनका स्वास्थ्य अवस्था गम्भिर बनेपछि भेन्टिलेटरमा राखेर इमर्जेन्सी अवस्थामा अपनाउनुपर्ने सबै उपाय अपनायौं । तर उनलाई बचाउन सकिएन डाक्टर हुसैनले बताए, मृतक मुटु रोगीसमेत थिए ।
त्यस्तै, बुटवलमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं ८ बस्ने ८० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो ।
बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा गएराति साढे ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । उनमा असोज १२ गते कोरोना पुष्टि भएपछि, बुधबार बिहान साढे ६ बजे अस्पताल भर्ना भएका थिए ।
मृतकमा उच्च रक्तचापका दीर्घ रोग समेत रहेका डा. गौतमले जानकारी दिए ।
त्यसैगरी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुनसरीको इटहरी–६ का पुरुषको गएराति पौने १० बजे मृत्यु भएको छ ।
उनी बिराट मेडिकल कलेज बिराटनगरबाट रिफर भएर प्रतिष्ठानमा आएका प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । उनमा असोज १४ गते नै बिराट मेडिकल कलेजमा कोरोना संक्रमण देखिएको थियो ।
उनमा ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या जस्ता लक्षण थियो । तर, ती बिरामीमा पहिलेदेखि अन्य दीर्घ रोग नभएको पाइएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।