बालुवाटारमा ओली र प्रचण्डबीच छलफलमा
११ असोज, रौतहट । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालबीच अहिले छलफल भइरहेको छ । बालुवाटार स्रोतका अनुसार करिब ९ बजेदेखि बालुवाटारमा छलफल जारी छ ।
पछिल्लो समय पार्टी विवाद समाधानका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता जारी छ । मन्त्रिपरिषद् पुनर्गठन र संवैधानिक निकायका पदाधिकारी नियुक्तिबारे दुई नेताबीच विमर्श भइरहेको छ । संवैधानिक निकायको पदपूर्तिबारे प्रतिपक्ष दलका नेता शेरबहादुर देउवासँग पनि पटक–पटक छलफल भइरहेको छ ।
यसअघि शुक्रबारको बैठकमा नै प्रधानमन्त्री ओलीले केही मन्त्रीहरुको बैठक यो नै अन्तिम हुनसक्ने भन्ने स्पष्ट रुपमा बताइसकेका थिए ।
केही मन्त्रीहरुलाई भेटमा ओलीले निरन्तर हुने आश्वासनसमेत दिएका थिए ।
दुई अध्यक्षको छलफल लगत्तै बालुवाटारमा नै मन्त्रिपरिषद् बैठक बोलाइएको छ । १२ बजे बैठक आह्वान गरिएको छ।
तर, बैठकको कार्यसूचीबारे जानकारी गराइएको छैन । ‘बैठकको जानकारी छ तर, कार्यसूची के हो जानकारी छैन । नियमित हैन । केही नयाँ एजेण्डा पो छ कि’, एक मन्त्रीले भने।