मन्त्रिपरिषद् पुनर्गठन गर्न ओली र दाहाल सहमत
९ असोज, रौतहट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच तीन घन्टा लामो भेटघाटका क्रममा मन्त्रिपरिषद् पुनर्गठनका बारेमा छलफल भएको थियो ।
‘दुई अध्यक्षबीच मन्त्रिपरिषद् पुनर्गठनमै केन्द्रित रहेर पहिलोपटक लामो कुराकानी भएको हो, दुवै अध्यक्ष मन्त्रिपरिषद् पुनर्गठनको विषयमा सहमत भए पनि केही नामबारे आज (बिहीबार)छलफल भएको छ,’ स्रोतले भन्यो । सो भेटघाटपछि दाहालले वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि त्यसबारे छलफल गरेका थिए ।
६ असोजमा बसेको सचिवालय बैठकले संवैधानिक अंगमा नियुक्त हुन योग्य व्यक्तिहरूको सूचीका लागि रोस्टर बनाउने, १० दिनभित्र एकीकरणका बाँकी काम सम्पन्न गर्नेगरी गृहकार्यका लागि ओली र दाहाललाई जिम्मेवारी दिएको थियो। त्यसैअनुसार बिहीबार दुई अध्यक्षबीच कुराकानी भएको स्रोतको भनाइ छ ।