आज बिहान ७ बजे काठमाडौंबाट भोजपुरका लागि उडेको नेपाल एयरलाइन्सको जहाज ७ महिनापछिको पहिलो आन्तरिक उडान बन्न सफल भएको छ । सरकारले आन्तरिक व्यवसायिक उडानलाई अनुमति दिएसँगै आजबाट आन्तरिक हवाई सेवा सुरु भएको हो ।
आगामी ९ दिनसम्म साविकको तुलनामा २५ प्रतिशत हवाई उडान हुनेछन् । सामाजिक दुरी कायम गरी पूर्ण स्वास्थ्य सतर्कता अपनाएर हवाई यात्रा सेवा भएको विमानस्थल कार्यालयले जनाएको छ । निजी वायुसेवा कम्पनीले कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनगर गर्दै सुरक्षित तरिका अपनाएमा मात्र यात्रुलाई सेवा दिनेछन्। कोभिड संक्रमणका लक्षण देखिएका र संक्रमितलाई भने विमानमा यात्रा गर्न निषेध गरिएको छ। विमानमा अनिवार्य मास्क लगाउनु पर्नेछ।
कोभिडसँग मिल्दोजुल्दो कुनै लक्षण भएका यात्रुलाई हवाई उडानमा पूर्ण निषेध लगाएको छ। विमानस्थलमा यात्रुको दोहोरो तापक्रम चेकजाँच, कन्ट्याक्टलेस चेकइन, सामाजिक दुरी, विमान चढ्नु अगावै ह्याण्ड सेनिटाइजेशन तथा हरेक यात्रुलाई मास्क तथा भाइजरको प्रयोग अनिवार्य गरिएको छ।
पहिलो चरणमा दैनिक ४३ वटा उडानलाई अनुमति दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । आजबाट सुगममा बुद्ध एयरले १६, यतीले १०, श्रीले ६ तथा सिम्रिक र सौर्यले १–१ उडानको अनुमति पाएका छन् ।