नेकपा सचिवालयमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल सुरु

   ४ आश्विन २०७७, आईतवार १५:२७  

४ असोज, रौतहट । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे छलफल सुरु भएको छ ।

आइतबार बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनको आवश्यकता देखिएको र त्यस एजेण्डामा गम्भीरताका साथ छलफल सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार यसबारे बैठकमा सदस्यहरुले विभिन्न सुझाव दिएका छन् तर मापदण्ड भने बनिनसकेको छैन । नेकपाभित्र मन्त्रिमण्डल पुनर्गठनबारे आवाज उठ्दै आएकोमा आजको बैठकमा औपचारिक यस विषयले प्रवेश पाएको हो ।

यस्तै बैठकले संवैधानिक राजनीतिक नियुक्तिका उपयुक्त निर्णय गर्न सरकारलाई सुझाव दिएको छ । यस्तै सांगठनिक एकीकरणका बाँकी कार्यभारत पूरा, रिक्त रहेका स्थायी समिति र केन्द्रीय समितिमा मनोनयन गर्ने लगायतका विषयमा पनि छलफल सुरु भएको श्रेष्ठले जानकारी दिए ।