जाजरकोटमा वडासचिवको कोरोनाको जस्तै लक्षण देखिएपछि मृत्यु
३१ भदौ, रौतहट । जाजरकोटका एक वडा सचिवमा कोरोनाका मिल्दोजुल्दो लक्षण देखिएपछि मृत्यु भएको छ । जाजरकोट नलगाड नगरपालिका १० का २६ वर्षीय कविराम रोकाको मृत्यु भएको हो ।
उनी बस्दै आएको घरमा बुधबार बिहान एक्कासी मृत्युु भएको नलगाड नगरपालिका वडा न. १० का वडाअध्यक्ष भद्रबहादुर ध्यारले जानकारी दिए । ‘आज बिहान एक्कासी वडा सचिवको मृत्यु भएको छ,’ अध्यक्ष ध्यारेले भने, ‘उहाँलाई अत्याधिक ज्वरो र रुघा खोकी लागेको थियो । श्वासप्रश्वासमा समेत समस्या हुन्छ भन्नु हुन्थ्यो ।’
रुकुम पश्चिम सानीभेरी गाउँपालिका १३, छिवाङ स्थायी घर भएका सचिव रोका केही समयदेखि नलगाड १० मा कार्यरत थिए । मृतक रोकाको स्वाब संकलन गरेर चौरजहारीस्थित कोरोना परीक्षण प्रयोगशालामा पठाउने तयारी भएको छ । शवलाई प्रहरीको निगरानीमा राखिएको अध्यक्ष ध्यारे बताए ।






