कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु
२९ भदौ, रौतहट । कोरोना संक्रमणका कारण थप चार जनाको मृत्यु भएको छ । कपिलवस्तुका दुई जना, मोरङका एक जना र चितवनका एक जना गरी थप ४ जना संक्रमितको मृत्यु भएको हो ।
बुटवल र भैरहवामा एक–एक जना संक्रमितको मृत्यु भएको हो । दुवै मृतक चन्द्रौटा निवासी हुन । यससँगै कपिलवस्तु जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत शिवराज नगरपालिका वडा नं. ५ निवासी ४७ वर्षीया महिलाको आज बिहान ४ः३० बजे मृत्यु भएको छ ।
मिर्गौला र उच्च रक्तचापको बिरामी ती महिलामा यही भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी रुपन्देहीको भैरहवास्थित भिम अस्पतालमा उपचाररत कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ का ५८ वर्षीय संक्रमित पुरुषको पनि मृत्यु भएको छ ।
ती पुरुषको गएराति १० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । उनी दमको बिरामी थिए । उनमा यही भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा मोरङका एक संक्रमितको मृत्यु भएको छ । कुनै दीर्घ रोग नभएका एक ४० वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
मोरङको धनपालथान–६ का ती पुरुषको आइतबार राति ८ः४५ मा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनलाई प्रतिष्ठानको अर्थो अब्जरभेसन वार्डमा उपचारको क्रममा रहँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी, चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ ।
उपचारको क्रममा आइतबार राति ११ः३० बजे उनको मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनको कोभिड सघन उपचार कक्षमा उपचार हुँदै आएको थियो । हालसम्म चितवन जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु हुने कोरोना संक्रमितको संख्या २७ पुगेको छ ।