सिन्धुपाल्चोकमा पहिरो जाँदा बेपत्ता भएकामध्ये ७ जनाको शव भेटियो, २४ बेपत्ता
२८ भदौ, रौतहट । सिन्धुपाल्चोकमा पहिरोमा बेपत्ता भएकामध्ये सात जनाको शव फेला परेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ मा आइतबार बिहान पहिरो जाँदा बेपत्ता भएकामध्ये ७ जनाको शव फेला परेका छ, भने अझै २४ जना बेपत्ता नै रहेको बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले जानकारी दिए ।
शेर्पाका अनुसार उक्त वडाको नाकचुच्चे भन्ने ठाउँबाट पहिरो गएको हो । नाकचुच्चेबाट बर्खर्कसम्म ठाउँ-ठाउँमा पहिरो गएको छ। माथि भीर र तल खेत भएको ठाउँमा पहिरो गएको उनले बताए। यसअघि पनि पहिरो जाँदा सम्भावित ठाउँहरू आँकलन गरी सुरक्षित गरिएको थियो। तर, सम्भावना नआँकिएको ठाउँमै पहिरो गएको शेर्पाले बताए।
‘अरू ठाउँहरू हेरेका थियौं, चिरा परेका ठाउँ थिए, यहाँ पहिरो जाने सम्भावना देखिएको थिएन,’ शेर्पाले भने। उनका अनुसार पहिरोमा १६ घर क्षतिग्रस्त छन । घाइते तीन जनालाई एम्बुलेन्समा राखेर उपचारका लागि काठमाडौं पठाइएको छ । प्रहरीले भेटिएका शवहरूको पहिचान गरिरहेको छ। बेपत्ता भएकाहरूको प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ ।