कोरोनाका कारण पाँच संक्रमितको मृत्यु, चितवनमा थपिए ८७ संक्रमित

   २७ भाद्र २०७७, शनिबार ११:०५  

२७ भदौ, रौतहट । कोरोना संक्रमणका कारण थप पाँच जनाको मृत्यु भएको छ । ललितपुरका तीन जना, स्याङ्जाका एक जना र रुपन्देहीका एक जना गरी थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

ललितपुरको पाटन अस्पतालमा २ जना र मेघा अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार मृत्यु हुनेमा दुई जना भक्तपुरका र एक जना काठमाडौंका हुन ।

पाटन अस्पतालमा उपचाररत काठमाडौं निवासी ५१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ । यही भदौ १९ गतेदेखि अस्पतालमा उपचार गराइरहेका उनको आज बिहान २ बजे मृत्यु भएको अस्पताललाई उद्धृत गर्दै स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

यसैगरी ललितपुरकै पाटन अस्पतालमा उपचार गराइरहेका भक्तपुरका ७२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको गएराति ९ः४५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । ७२ वर्षीय पुरुषको यही भदौ १७ गतेदेखि पाटन अस्पतालमा उपचार भइरहेको थियो ।

यस्तै ललितपुरकै मेघा अस्पतालमा उपचार गराइरहेका भक्तपुर निवासी ३८ वर्षीय पुरुषको पनि आज बिहान ७ः४० बजे मृत्यु भएको छ । उनी भदौ २६ गते मात्रै अस्पतालमा भर्ना भएका थिए ।

त्यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. १ निवासी ८५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।

आइसियूमा उपचाररत उनको आज बिहान ६ः३२ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । उनी यही भदौ २४ गते कोरोना संक्रमण पुष्टि भएपछि, ती पुरुषलाई अस्पताल भर्ना गरिएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु हुनेको संख्या १० पुगेको छ ।

त्यसैगरी, रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको ओमसतिया गाउँपालिका–५ का ४० वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्पतालमा गएराति मृत्यु भएको हो ।

भदौ १४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । भदौ १६ गते कोरोना अस्पतालमा भर्ना भई भेन्टिलेटरको सहायतामा उपचार भइरहेकामा श्वासप्रश्वासमा समस्या आएर शुक्रबार राति साढे १२ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

उनलाई २४ गतेदेखि स्वास्थ्यमा थप समस्या भएपछि भेन्टिलेटरको सहायतामा उपचार भइरहेको डा. गौतमले बताए । उनी मधुमेहका बिरामी थिए । योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १७ पुगेको छ ।

त्यस्तै, चितवनमा एकैदिन ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार राति भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालाले सार्वजनिक गरेको रिपोर्टमा ८७ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ ।

संक्रमित सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५० पुरुष र २३ महिला गरी ७३ जना छन । कालिका नगरपालिकाका ६ पुरुष र २ महिला गरी ८ जना छन । खैरहनीका २ महिला र २ पुरुष गरी ४ जना तथा रत्ननगरका २ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै चितवनमा संक्रमितको संख्या १२ सय पुगेको छ ।