कास्कीबाट कोरोना बारे अफवाह फैलाएको आरोपमा २ जना पक्राउ

   २६ भाद्र २०७७, शुक्रबार १६:००  

२६ भदौ, रौतहट । कोरोना भाइरसको पीसीआर रिपोर्टसम्बन्धी सामाजिक सञ्जालमा अफवाह फैलाएका अभियोगमा कास्कीबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पर्वतको मोदी गाउँपालिका ७ घर भई पोखरा महानगरपालिका ५ बस्ने २९ वर्षीय ईश्वर रिमाललाई बुधबार र चितवन भरतपुर महानगरपालिका ४ घर भई पोखरा नयाँबजार बस्ने २२ वर्षीय निरज लम्साललाई बिहीबार पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

गण्डकी प्रदेशको जनस्वास्थ्य प्रयोगशालाबाट (कोभिड १९) पीसीआर परीक्षण गरेको रिमालको रिपोर्टलाई उनीहरू उल्टोपाल्टो गरी सामाजिक सञ्जालमा पोष्ट गरी अफवाह फैलाएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार उनीहरुले नेगेटिभ रिपोर्टलाई पोजेटिभ भनी सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उनीहरु विरुद्ध झुट्टा अफवाह फैलाउन नहुने सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।