आजदेखि काठमाडौँ उपत्यकामा बिजोर नम्बरका सवारी चलाउन पाइने

   २५ भाद्र २०७७, बिहीबार १२:१३  

२५ भदौ, रौतहट । आज देखि काठमाडौँ उपत्याकामा जोर बिजोर प्रणालीबाट सवारी साधन चल्न थालेको छन् । ट्राफिक प्रहरी महाशाखाले गतेका आधारमा जोर बिजोर प्रणाली लागू गरेको छ ।

बुधवार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निजी सवारी र १६ सिटभन्दा माथि सिट क्षमता भएका सार्वजनिक गाडीमा जोर–बिजोर प्रणाली लागू गर्ने निर्णय गरेका थिए । स्थानीय प्रशासनको निर्णय अनुसार आज बिजोर नम्बरका सवारी चलाउन पाइने ट्राफिक प्रहरी महाशाखाका प्रमुख (एसएसपी) भिम प्रसाद ढकालले बताए ।

‘गतेका आधारमा जोर बिजोर लागु गरेका छौं,’ प्रहरी बरिष्ठ उपरीक्षक ढकालले भने– ‘आज बिजोर गते भएकाले बिजोर नम्बरका सवारी चल्न पाउँछन ।’ट्राफिक प्रहरीले जोर नम्बरका सवारीलाई नियन्त्रणमा लिएको छ । बिहीबार बिहान १० बजेसम्म ४ सय २६ बढी जोर नम्बरका सवारी होल्ड गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

जोर–बिजोर प्रणालिमा सञ्चालन हुने सवारी साधनले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुपर्छ । ट्याक्सीमा चालकसहित ३ जनाभन्दा बढी बस्न पाइदैँन । एकै परिवारका मान्छे ट्याक्सी चढेमा ५ बर्षमुनिका दुईजना बच्चालाई सँगै राख्न सकिन्छ ।

१६ भन्दा बढी सिट क्षमता भएका सार्वजनिक बसमा कुल सिट क्षमताको आधा नबढ्ने गरी एक लहरमा एकजना मात्र यात्रु चढाउन सकिन्छ । त्यस्तै, बसमा सेनिटाइजरको अनिवार्य व्यवस्था हुनुपर्छ । निजी सवारी साधनले पनि स्वास्थ्य मापदण्ड पुरा गर्नुपर्छ ।