नागरिकता लिँदा झुठो विवरण पेस गरेको आरोपमा विके बोस पक्राउ
२४ भदौ, रौतहट । हेटौंडाका एक उद्योगी नागरिकता लिँदा झुठो विवरण पेस गरेको आरोपमा पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका ५ का ५९ वर्षीय विप्लप कान्ति (विके बोस) नागरिकता मुद्दामा मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत रौतहटको पक्राउ पुर्जी र जिल्ला प्रहरी कार्यालय रौतहटको पत्रको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरले हेटौंडा–५ गदोईस्थित उनको उद्योगबाट पक्राउ गरिएको हो । उनलाई जिल्ला प्रशासन कार्यालय रौतहटमा झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोप रहेको छ ।
पक्राउ परेका उनलाई रौतहट पठाइएको मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए । ‘रौतहट प्रहरीले नागरिकता सम्बन्धमा अनुसन्धान गर्न विप्लप कान्ति (विके बोस) लार्ई पक्राउ गरी पठाउनको लागि अनुरोध गरे बमोजिम मकवानपुर प्रहरी मार्फत, आवश्यक स्वास्थ्य अवस्था जाँच गरी रौतहट प्रहरीको जिम्मा लगाएका छौं’, थप अनुसन्धान रौतहटबाट हुनेछ नायब उपरीक्षक रानाले भने । बोस हेटौंडा औद्योगिक क्षेत्रमा रहेको सुपर लेमिकोट्स प्रालि र हेटौंडा–५ गर्दोइमा रहेको नारायणी मिल्कका सञ्चालक हुन ।
जिल्ला प्रशासन रौतहटका प्रशासकीय अधिकृत किरणनिधि तिवारीका अनुसार बोसले २०६३ सालमा नागरिकताको घुम्ती टोलीबाट वंशजको नागरिकता लिएका थिए । उनको नागरिकतामाथि छानविनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपश्चात गृहमन्त्रालय हुँदै प्रशासन कार्यालयमा जानकारी आएको थियो ।
बोसले २०६३ चैत ६ गते तत्कालीन वडहर्वा गाविस वडा नम्बर ५ बाट नागरिकता लिएको खुलेको छ । उनको नागरिकतामाथि छानविन गर्न गृहमन्त्रालयले २०७६ माघमा जिल्ला प्रशासन कार्यालय रौतहटमा पत्रचार गरेको थियो ।