कोरोनाका कारण मानसिक स्वास्थ्यबारे प्रधानमन्त्रीको चासो

   २३ भाद्र २०७७, मंगलवार १५:५७  

२३ भदौ, रौतहट । कोरोना भाईरस (कोभिड १९) पछि मानसिक स्वास्थ्यमा परेको प्रभावबारे मनोचिकित्सकहरुसंग प्रभानमन्त्री केपी शर्मा ओलीले परामर्श गरेका छन् ।

सरकारी निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री ओलीले कोरोनाबारे अनावश्यक त्रास बढेको बताए । ‘कोरोनाभन्दा पनि मानिसक डर बढी देखिन्छ’, छलफलमा सहभागी एक चिकित्सकले प्रधानमन्त्रीको भनाइ उदृध गर्दै भने, ‘कतिपयले कोरोनाबारे अनावश्यक त्रास फैलाएका छन ।’

ती चिकित्सकका अनुसार मनोचिकित्सक र स्वास्थ्य मन्त्रालयले कोरोनाबारे यथार्थ कुरा बाहिर ल्याउन जोडदिनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । आजको छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, डा. सरोजप्रसाद ओझा, डा. सुदर्शन नरसिंह प्रधान, डा. पशुपति महत, डा. रितेश थापा, डा. दिव्य सिंह, डा. सगुन पन्त, डा. रोशन पोखरेल, डा. फणीन्द्र बराल, डा. अनन्त अधिकारी लगायत सहभागी थिए ।
मनोचिकित्सकहरूले भने लकडाउन र निषेधाज्ञाले मानसिक समस्या बढाएको र आत्महत्याको दर बढ्दै गएको बताएका थिए । नेपालमा मनोस्वास्थ्यलाई महत्व नदिएको पनि उनीहरूले प्रधानमन्त्रीसँग गुनासो गरे ।

मानसिक स्वास्थ्य सम्बन्धी शिक्षा विद्यालय तहको पाठ्यक्रममा समेट्नुपर्ने चिकित्सकहरूको जोड थियो ।