प्रधानमन्त्रीको आग्रह ‘साक्षर नेपाल अभियान’सफल पारौँ
२३ भदौ, रौतहट । साक्षर नेपाल अभियान सफल पार्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई आग्रह गरेका छन् ।
५४ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मीमा शुभकामनाव्यक्त गर्दै प्रधानमन्त्री ओलीले निरक्षर नेपालीलाई साक्षर बनाउनु सरकारको मुख्य लक्ष्य रहेकाले अभियान सफल पार्न आग्रह गरेका हुन ।
‘हालसम्म ५३ जिल्ला पूर्ण साक्षर घोषणा भैसकेका छन । आगामी दिनहरुमा वाँकी रहेका जिल्लाहरुको साक्षरता अभियान सञ्चालन गरी साक्षर नेपालको घोषणा गर्नेतर्फ सरकार केन्द्रित छ । अन्तर्राष्ट्रिय साक्षरता दिवसको यस अवसरमा मेरो आग्रह छ, हामी सबै मिलेर साक्षर नेपाल अभियानलाई सफल पारौँ, ’प्रधानमन्त्रीले मंगलबार जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।
उनले हाम्रो संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहको शिक्षा निशुल्क पाउने हक सुनिश्चित गरेकाले संवैधानिक सुनिश्चिततालाई सरकारले कार्यान्वयन गरेको उल्लेख गरेका छन ।