धनुषामा काठ नियन्त्रणमा लिँदा स्थानीय र प्रहरीबीच झडप
२२ भदौ, रौतहट । धनुषाको बटेश्वर गाउँपालिकामा आइतबार राति १२ बजेतिर काठ ओसार्न लागेको समूह र प्रहरीबीच झडप हुँदा दुई प्रहरी र तीन जना स्थानीय घाइते भइका छन् ।
बटेश्वर गाउँपालिका– ५ शान्तिपुरमा काठ ओसारिरहेको सूचना पाएपछि आइतबार राति इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक दीपक राय नेतृत्वमा टोली खटिएको थियो । प्रहरीले स.१ त. ६०४० नम्बरको ट्याक्टरमा सखुवाको काठ लोड गरी लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिई कार्यालय तर्फ ल्याउने क्रममा ६०÷७० जनाको समूहले एक्कासी पछाडिबाट ढुंगा प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र कुमार मिश्रले बताए ।
उक्त समूहको आक्रमणमा प्रहरी निरीक्षक रायको बाँया आँखामाथि चोट लागेको छ भने प्रहरी जवान रामविश्वास पण्डितको टाउकोको पछाडि भागमा चोट लागेको मिश्रले जानकारी दिए । दुबैको महेन्द्रनगर हेल्थकेयरमा उपचार भईरहेको उनले बताए । उक्त समूहले प्रहार गरेको ढुंगा लागेर प्रहरीको ना १ झ १२५० नम्बरको गाडीको पछाडिको सिसा फुटेको छ ।
स्थानीयका अनुसार प्रहरीले लाठी चार्ज गर्दा स्थानीय तीन जना समेत घाइते भएका छन । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उक्त ट्याक्टरमा लोड गरिएको सखुवाको ८ थान गोलिया काठ नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको र फरार भएका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता मिश्रले बताए ।