गरुडामा आन्दोलनको कार्यक्रम घोषणा

   १७ भाद्र २०७७, बुधबार १३:५४  

१७ भदौ, रौतहट । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर प्रहरी हिरासतमा रहेका विजय रामको मृत्यु भए पछि रौतहटको गरुडामा शुरु भएको विरोध प्रर्दशनको क्रम रोकिएको छैन ।

साउन ३२ गते रौतहटको गरुडा नगरपालिका वडा नं. ८ जिगंडवाका २० वर्षिय निरजंन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा पक्राउ परेका विजय रामको उपचारको क्रममा भदौ १० गते राति वीरगंजको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । भदौ २ गते देखि शुरु भएको प्रर्दशन बिजय रामको मृत्यु पछि झनै चर्किएको हो ।

स्थानिय, परिवारजन तथा दलित अगुवाहरुले निरजंन राम र बिजय राम हत्याकाण्ड जिल्ला संघर्ष समिति गठन गरेर आफ्ना माँग सहित संघर्षका कार्यक्रमहरु गरिरहको संयोजक सोनेलाल रामले बताए । दलितहरुको आन्दोलन प्रति एक्यबद्धता जनाउदै पूर्व मन्त्री तथा साँसद विसेन्द्र पासवान पाँच दिन देखि इलाका प्रहरी कार्यालय गरुडा अगाडी आमरण अनसनमा बसेका छन ।

प्रहरी द्धारा हत्या भएको बिजय रामको मुद्दा दर्ता गर्न नमानेको भन्दै संघर्ष समितिले भदौ १७ गते देखी २२ गते सम्म रौतहटमा चरणबद्धरुपमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । “मृतक निरजंन रामको अभियुक्त लखन साह र राजगीर साहलाई प्रहरीले पक्राउ गर्न चाहेको छैन । मृतकलाई सहिद घोषणा गरेर पीडित परिवारलाई क्षतिपूर्ति दिनु पर्छ ।” संयोजक रामले भने “हत्याकाण्डको छानबिनका लागी दलित आयोग, मानव अधिकार आयोग सहितको उच्च स्तरीय छानबिन समिति बनाउनु पर्छ । हिरासतमा दलित मारिएकोले जिल्ला प्रहरी कार्यालयका उपरिक्षक र गरुडाका नायब उपरिक्षक ज्ञानकुमार महतोलाई तत्काल निलम्बन गर्नु पर्छ ।”

गृह मन्त्रालयले इन्सपेक्टर र हवलदारलाई ६ महिनाको लागी निलम्बन गरेको तर आदेश दिने एसपी र डिएसपीलाई भने जोगाउन खोजेको उनको आरोप छ । यस अघि जिल्ला प्रशासन लगायतका कार्यालयमा भएको सहमति आफूहरुलाई मान्य नभएको दलित अगुवाहरुले बताएका छन ।