जनकपुरमा एक महिलाले एकैपटक जन्माइन् ४ वटा बच्चा

   १७ भाद्र २०७७, बुधबार ११:२१  

१७ भदौ, रौतहट । जनाकपुरमा एक महिलाले चम्ल्याहा बच्चा जन्माएकी छन् । धनुषाको विदेह नगरपालिका ७ जोगियारा बस्ने २२ वर्षीया अरमाना खातुनले मंगलवार राति एकैपटक चार वटा बच्चालाई जन्म दिएकी हुन ।

प्रसूतिका लागि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी अरमानाको स्त्री तथा प्रसुती रोग विशेषज्ञ चिकित्सक सोनिया सिंहले शल्यक्रिया मार्फत ती बच्चाहरु निकालेकी थिइन । डा. सोनिया सिंहले एकै पटकमा ४ वटा बच्चालाई जन्म दिनु ’दुर्लभ’ घटना रहेको बताइन । अरमानाले ३ छोरी र १ छोरा जन्माएकी छन । शिशुहरु मध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको काव्या अस्पतालले जनाएको छ ।

शिशुहरु मध्ये ३ वटाको स्वास्थ्य अवस्था समान्य रहेपनि एक शिशुको अवस्था भने अस्थिर देखिएको डाक्टर एसके सिंहले बताए । शिशुहरुको श्वासप्रश्वासमा कठिनाइ हुनसक्ने भएकाले केही साता विशेष स्वास्थ्य निगरानीमा अस्पतालमा राखिएको डा। सिंहले जानकारी दिए । यता एकै पटकमा ४ वटा बच्चाको जन्म दिएकी अरमानाको अवस्था गम्भीर छ ।

उनको फोक्सोमा पानी जमेर पलमनरी एडीमा देखिएकोले डा. अजय यादवको निगरानीमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको र कोरोना परीक्षणका लागि स्वाब संकलन गरी प्रादेशिक प्रयोगशाला जनकपुरमा पठाइएको डा। एसके सिंह बताए ।